साविक विजेता मुम्बईलाई सुपर ओभरमा पराजित गर्दै पन्जाब विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा दोस्रो सुपर ओभरमा लिइएको थियो ।

किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

पहिलो सुपर ओभरमा पन्जाबले ५ रन जोड्दा जवाफमा मुम्बईले पनि ५ रन नै जोडेपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले ११ रन जोड्दा पन्जाबले १ बल बाँकी रहँदै लक्ष्य प्राप्त गर्यो ।

पहिलो सुपर ओभरमा पहिलो ब्याटिङ गरेका पन्जाबका केएल राहुलले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा जसप्रित बुमराहले निकोलस पुरनलाई क्याच आउट गराए । त्यसपछि दुई बलमा राहुल र दीपक हुडाले १-१ रन जोडे । पाँचौ बलमा राहुलले २ रन जोडे । अन्तिम बलमा राहुल एलबीडब्लु आउट भएपछि पन्जाब मात्र ५ रनमा समेटियो ।

जवाफमा ६ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि क्विन्टन डीककले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा रोहित शर्माले पनि एक रन नै जोडे । तेस्रो बलमा मोहमद शामीले एक रन दिँदा चौथो बलमा भने रोहित शर्माले रन निकाल्न सकेनन् । पाँचौ बलमा रोहितले १ रन लिए । अन्तिम बलमा दोस्रो रन लिने क्रममा डीकक रन आउट भएपछि खेल पुन: बराबर भएको थियो ।

त्यसपछि दोस्रो सुपर ओभरका लागि मुम्बईले हार्दिक पान्ड्या र काइरान पोलार्डलाई पठाएको थियो । क्रिस जोर्डनको पहिलो बलमा पोलार्डले सिंगल लिए । त्यसपछि वाइड फ्याँकेका जोर्डनले दोस्रो बलमा पनि १ रन दिए । तेस्रो बलमा पोलार्डले चौका प्रहार गरे ।

चौथो बलमा पोलार्डले दोस्रो रन लिने क्रममा हार्दिक रनआउट भए । पाँचौ बलमा पोलार्डलाई अम्पायरले कट बिहाइन्ड दिएपनि रिभ्यु लिँदै निर्णय उल्टाए । अन्तिम बलमा पन्जाबका मयंक अग्रवालले पोलार्डको ठूलो प्रहारलाई बाउन्ड्रीमा उत्कृष्ट फिल्डिङ गरेपछि मुम्बईले २ रनमात्र जोड्यो ।

जवाफमा दोस्रो सुपर ओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य पछ्याउने क्रममा क्रिस गेलले पहिलो बलमा नै ट्रेन्ट बोल्टलाई छक्का प्रहार गरे । दोस्रो बलमा गेलले १ रन जोडे । तेस्रो बलमा मयंकले चौका प्रहार गर्दै जितनजिक पुर्याए । चौथो बलमा पनि मयंकले चौका प्रहार गर्दै पन्जाबलाई जित दिलाए ।

जितसँगै पन्जाबले मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो ।

पन्जाबसँग पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । मुम्बई ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

पन्जाबको यो तेस्रो जित हो । पन्जाब ९ खेलमा ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *