हैदराबादको सानदार जित, राजस्थान रोयल्स ८ विकेटले पराजित
सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । दुबईमा बिहीबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.१ ओभरमा २ विकेटको क्षतिमा जित हासिल गर्यो । हैदराबादको जितमा मनिष पाण्डेले ४७ बलमा ४ चौका र ८ छक्का सहित ८३ रन जोडे। विजय शंकरले५१ बलमा ६ चौका सहित ५२ रनमा जोडे।
कमजोर सुरुवात गरेपनि तेस्रो विकेटका लागि मनिष र विजयले १ सय ४० रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । तीव्र गतिका बलर जोफ्रा आर्चरले पहिलो ओभरको चौथो बलमा डेभिड वार्नरलाई चार रनमा दोस्रो स्लिपमा बेन स्टोक्सबाट उत्कृष्ट क्याच आउट गराएका थिए ।
जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।
राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
राजस्थानले अब आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । हैदराबादले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।
अंक तालिका
दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ ।
पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।