विप्लव समूहका कम्पनी कमिश्नर पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङले ठूलो मात्रामा विष्फोटक पदार्थसहित नेत्र विक्रम चन्द विप्लव समूह नेकपाका कम्पनी कमिश्नरलाई पक्राउ गरेको छ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले चन्द समूहका पूर्वी कमाण्डका कम्पनी कमिश्नर विज्ञान राई समन, र काशीनाथ घिमिरे प्रतिकलाई बुधबार पक्राउ गरेको जानकारी दिए।
१८ वर्षीय राई ईलाम चुलाचुली गाँउपालिका ६ र घिमिरे सप्तरीको सुरुंगा नगरपालिका २ का बासिन्दा हुन्।
प्रहरी उपरीक्षक खड्काका अनुसार पक्राउ परेका घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची कोशी ब्यूरो चौथो कम्पनी कमिश्नर र राई पार्टी सदस्य रहेका छन् ।
घिमिरे सप्तरी जिल्लाको पूर्व सेक्रेटरी समेत रहिसकेको उनको भनाई छ ।
प्रहरीले उनीहरुको साथबाट १ थान नालसहित भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १ बट्टा फलामको टुक्रा, विष्फोटक पदार्थ जिलेटिन ३ किलोग्राम, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, नन इलेक्ट्रिक डेटोनेटर १८ थान, लाईटर ६ थान, १२ भोल्टको ब्याट्री १ थान र गन पाउडर र बारुद ४ बट्टा बरामद गरेको छ ।