कार्तिक स्नान र आकाशदीप दान आजदेखि शुरु

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु भएकोछ ।

शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

सनातन हिन्दु धर्मावलम्बीहरू कात्तिक महिनाभर कार्तिकस्नान गरी विशेषगरी भगवान् नारायणको आराधना गर्छन्। चान्द्रमानको पात्रोअनुसार आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत) देखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिकस्नान गर्ने परम्परा छ।

 

नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित संस्कृत नेपाली बृहत् शब्दकोषका अनुसार आकाशदीप ७, १४ अथवा २१ हातको बाँस, पलाँस, खयर, पीपल वा कुनै काठको खम्बा गाडी भगवान् विष्णुलाई समर्पण गरी बालिन्छ । पातालदीप बिहान बेलुकी नै बालिन्छ। आकाशदीप भने साँझको आरतीका वेला बालिन्छ। यो वर्ष कात्तिक १५ गते सुरु भएको यो क्रम मंसिर १५ गतेसम्म जारी रहनेछ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको छ ।

आषाढ शुक्ल पक्षको एकादशीमा तुलसी रोपी कार्तिक शुक्ल एकादशीसम्म पूजा गर्ने र त्यो दिन विवाह गर्ने चलन छ। यो चार महिनाको अवधिलाई चतुर्मास व्रत पनि भनिन्छ। यो अवधिभर तुलसीको पूजा गर्ने र भगवान् नारायणको आराधना गर्ने उनको महिमा सुनिन्छ। यो समय श्रीमद्भागवत्, विष्णुपुराण आदि वाचन गराउने तथा  नारायणको भजनकीर्तन गाउने गरिन्छ। चतुर्मासमध्ये पनि कार्तिक महिना विशेष महत्त्वको भएको  बताइन्छ ।

धार्मिक मान्यता अनुसार कार्तिक महिनाभर बिहानसबेरै उठी स्नान गरी तारा नउदाउँदै तुलसीको पूजा गर्ने परम्परा छ। यो महिनाभर सबै देवता तुलसीको मठ वरिपरि बस्छन् भन्ने विश्वास गरिन्छ। तुलसीको मठमा बालिएको दीपलाई बोलीचालीको भाषामा पातालदीप भनिन्छ।

विधिपूर्व नारायणका नाममा आकाशदीप बाली गरी अन्त्यमा दीपदान गर्नाले यमयातना भोग्नु नपर्ने वैष्णव ग्रन्थहरूमा बताइएको छ। चतुर्मासभरि पूजा गरिएको तुलसीको विवाह कार्तिक शुक्ल(हरिशयनी) एकादशीका दिन भगवान् विष्णुसँग गरिन्छ । भोलिपल्ट द्वादशीका दिन हवन दान आदि कार्य गरेपछि चतुर्मास पूरा हुन्छ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

चार महिना शेषनागलाई शय्या बनाएर सुतेका नारायण यही एकादशीमा उठ्ने मान्यता छ। कार्तिक स्नान भने पूर्णिमाका दिन पूरा हुन्छ। यो एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ। यी पाँच दिनलाई विशेष महत्त्व दिइन्छ। यो अवधिमा नारायणमन्दिरहरूमा विशेष घुइँचो लाग्छ। उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, मत्स्यनारायण आदि यो वेलाका गन्तव्य हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *