ओलीले पार्टी फुटाउन चाहेको ‘प्रचण्ड’को बिफ्रिङ

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् । सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयबस्तुबारे जानकारी दिन दाहालले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए ।

‘प्रधानमन्त्रीले सचिवालय बैठक पनि बोलाउदिनँ, तपाईंहरुले जुनसुकै कमिटीको बैठक बोलाएर बुहमतले निर्णय गरे पनि त्यसलाई मान्दिनँ । कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु । एकै ठाँउ बस्न सकिन्नँ भने अलग-अलग जाऔँ । मलाई कुनै समस्या छैन भन्नुभएको छ,’ दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै खुमलटार छलफलमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्री ओलीले पार्टी विभाजन हुन सक्ने संकेत र चेतावनी दुवै दिनुभएको छ ।’

दाहालको ब्रिफिङ सुनेपछि जवाफमा नेताहरुले अहिले कुनै पनि हालतमा पार्टी विभाजन गर्न नहुने र बैठक राख्न पहल गर्नुपर्नेमा जोड दिएका थिए । ती नेताका अनुसार जो कोहीले पार्टी निर्णय मान्नपर्ने, पार्टीलाई नीति र विचारका आधारमा तथा विधि र पद्धतिका आधारमा चलाउनुपर्छ भन्ने खुमलटार छलफलको निष्कर्ष थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *