संसदको विशेष अधिवेशन बोलाउन कांग्रेसकाे माग
चाडबाडको बीचमा राजनीतिक सरगर्मी बढेसँगै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने आवाज उठ्न थालेको छ । सत्तापक्षदेखि प्रतिपक्षसम्ममा यो विषयले औपचारिक तथा अनौपचारिक प्रवेश पाएको हो ।
गत १४ असोजमा कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय पदाधिकारी र केही नेताहरूको बैठकले विशेष अधिवेशन माग गरेको थियो । तत्काल संसदको अधिवेशन बोलाउनुपर्ने पक्षमा कांग्रेससंगै जनता समाजवादी पार्टी (जसपा) पनि उभियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भने दुईथरी मत रहेको छ ।
सरकारले अधिवेशन आह्वानको सिफारिस नगरे एक चौथाईको समर्थन जुटाएर अगाडि बढ्ने योजनामा कांग्रेस छ । तर, यो विषयमा कांग्रेसले औपचारिक रुपमा कुनै प्रक्रिया अगाडि बढाइसकेको भने छैन ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँणले संसद बोलाउने विषयमा सरकार गम्भीर नभए कांग्रेसले प्रक्रिया सुरु गर्ने बताए । त्यसका लागि अन्य दलहरुसँग समेत छलफल चलिरहेको उनले जानकारी दिए ।
सरकारले नबोलाए एक चौथाइ सांसदहरूले माग गरेर भए पनि संसद अधिवशेन बोलाइने त्यसका लागि छठ पछि प्रक्रिया सुरु गरिने खाँणले बताए ।