काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं  आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।

विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिएको छ ।

पछिल्लो एक वर्षको अवधिमा यो नै सबैभन्दा उच्च भारतीय अधिकारीले गर्न लागेको नेपालको औपचारिक भ्रमण हो।

भारतीय सेनाध्यक्ष आज आउने भए पनि उनको औपचारिक कार्यक्रम भने भोलि बिहानबाट मात्र सुरु हुनेछ।

भारतीय सेनाध्यक्षले भोलि कात्तिक २० गते बिहान सैनिकमञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरी औपचारिक कार्यक्रमको सुरुआत गर्नेछन्।

वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि भारतीय सेनाध्यक्ष नरावणे सीधै भद्रकालीस्थित सैनिक मुख्यालय जंगी अड्डा जाने कार्यक्रम छ। जंगी अड्डामा उनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गर्नेछ।

सम्मान गारथ निरीक्षण गरेपछि उनले जंगी अड्डामै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन्। भेटवार्ता द्विपक्षीय हितका विषयमा केन्द्रित हुने जनाइएको छ। जंगी अड्डामा नै भारतीय सेनाध्यक्षले नेपाली सेनाका वरिष्ठ पीएसओज् रथीवृन्दहरूसँग अन्तरक्रिया गर्नेछन्।

अन्तरक्रिया कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्षले नेपाली सेनालाई आवश्यक केही मेडिकल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

बिहीबार दिउँसो उनको औपचारिक कार्यक्रम छैन। उक्त समय उनी आफ्नै व्यक्तिगत काम र काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

बिहीबार दिउँसो ४ बजेतिर राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी भारतीय सेनाध्यक्ष नरावणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवीले सम्मान प्रदान गरिने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मान प्रदान गर्नेछिन्। त्यसपछि शीतल निवासमा नै भारतीय सेनाध्यक्षले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

राणाकालदेखि नै नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्का देशको मानार्थ महारथीको पदवीले सम्मान गर्ने अभ्यास रहँदै आएको छ। यसैक्रममा सोही सम्मान लिन भारतीय सेनाध्यक्ष यसपटक नेपाल आएका हुन्।

राष्ट्रपति कार्यालयमा कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्ष नरावणे सैनिक मुख्यालय जंगी अड्डा जाने कार्यक्रम छ, जहाँ प्रधानसेनापति थापाले उनको सम्मानमा रात्रि भोजको आयोजना गर्नेछन्। बिहीबारको औपचारिक कार्यक्रम रात्रिभोजमा गएर टुङ्गिने छ।

शुक्रबार (कात्तिक २१ गते) बिहान भारतीय सेनाध्यक्ष शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेज जाने कार्यक्रम छ। स्टाफ कलेजमा नेपाली सेनाका शिक्षार्थीसँग उहाँको अन्तरक्रिया गर्ने कार्यक्रम छ।

शिवपुरीबाट फर्केपछि उनी भारतीय दूतावासले आयोजना गर्ने कार्यक्रमहरूमा पनि सहभागी हुनेछन्। त्यसपछि अन्त्यमा शुक्रबार स्वदेश फर्किनु अघि भारतीय सेनाध्यक्ष नरावणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँग शिष्टाचर भेट गरेपछि उनको स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *