अमेरिकीहरूलाई मास्क लगाउन नव निर्वाचित राष्ट्रपति जो बाइडेनको अपिल

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिकीहरुलाई मास्क लगाउन अपिल गरेका छन्।

अति तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम रहेको भन्दै सबै अमेरिकीलाई मास्कको प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।

चुनावी अभियानका क्रममा पनि उनले लगातार मास्क लगाउन आग्रह गर्दै आएका थिए र निर्वाचित राष्ट्रपतिका रुपमा उनले सबै अमेरिकीलाई मास्क लगाउन अपिल गरेका हुन् ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आएका छन् । उनले मास्क लगाउन सार्वजनिक रुपमा अपिल गरेका थिएनन् र छैनन् ।

बाइडेनले अमेरिकाले ‘सारै अँध्यारो (भयावह) जाडो याम’ को सामना गरेको र महामारीको अझै खराब लहर आउन बाँकी रहेको भन्दै अमेरिकीलाई सचेत गराएका हुन् । उनले कोभिड–१९ सँग जुध्नका लागि अमेरिकीले राजनीतिलाई पाखा लगाउनु पर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो टास्क फोर्स घोषणा गरेका छन् र विज्ञानलाई मान्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *