२७ गते सम्म ओलीको निर्णय कुर्ने पाँच नेताको निर्णय

नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै दुई दिन कुर्ने निर्णय गरेका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकले सचिवालयको औपचारिक बैठक राख्नका लागि दुई दिन कुर्ने निर्णय गरेका हुन्।

छलफल अघि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुम्बाराही पुगेका थिए।

छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ  सहभागी थिए।

पाँच नेताको बैठकमा अध्यक्ष प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको कुराकानीको ब्रिफिङ गरेका छन्।

ओलीले प्रचण्डसँगको छलफलमा बिहीबारसम्ममा सचिवालय बैठक बोलाउने आश्वासन दिएका छन्। बुधबार उपत्यका बाहिर जाने कार्यक्रम रहेको र बिहीबार सचिवालय बैठक बोलाउने सम्भावनाका विषयमा ओली र प्रचण्डबीच छलफल भएको थियो। यद्यपि ओलीले बैठकका विषयमा अझैसम्म सहमति दिएका छैनन्।

ओली भोलि एक नम्बर प्रदेशमा जाने भएपछि थप दुई दिन समय दिने निष्कर्षमा पाँच नेता पुगेका हुन्। मंगलबार बहुमत सदस्यको तेस्रो बैठक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *