नेकपाको विवाद पत्र ‘युद्ध’मा, अर्को बैठक म‌ंसिर ३ गते

लामो विवाद र बहसपछि शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक मंसिर ३ गते पुनः बस्नेगरी सकिएको छ।

सत्तारुढ नेपाल कम्‍युनिष्ट पार्टी (नेकपा)मा एकपछि अर्को गर्दै विवाद झनै उत्कर्षमा पुगेको छ। लामो विवादपछि शुक्रबार डाकिएको सचिवालय बैठकपछि नेकपाको विवाद साम्य हुने आशा गरिएको बेला विवाद झनै चर्किएको हो।

बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पठाएको पत्रको जवाफ लिखित रुपमै बुझाएपछि विवाद झनै चर्किएको हो।

शुक्रबारको सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आदानप्रदान भएका पत्र अध्ययनका लागि सचिवालय सदस्यलाई बाँडिएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार कात्तिक २२ गते कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले प्रधानमन्त्रीलाई बुझाएको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र, पुनः प्रचण्डले ओलीलाई दिएको जवाफी पत्र सचिवालय सदस्यलाई बाँडिएको छ।

त्यसैगरी पार्टी संकट र यसको निवारणका लागि प्रचण्डले तयार पारेको प्रस्ताव र पार्टी स्थायी कमिटी बैठकपछि जारी भएको अन्तरपार्टी निर्देशिका समेत अध्ययनका लागि सबै सचिवालय सदस्यलाई दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सबै विषयको अध्ययनपछि पुनः अर्को बैठक बसेर पार्टी विवादको समाधान सचिवालयबाटै हुने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *