प्रधानमन्त्री र चिनियाँ राजदूतबीच गोप्य भेट वार्ता
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार गोप्य भेट गरेकी छन् ।
उनीहरुबीच झण्डै डेढ घण्टा वार्तालाप भएको बालुवाटार स्रोतले जनाएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पदीय झगडा चरमबिन्दूमा पुगेका बेला चिनियाँ राजदूत हाउको सक्रियता एकाएक बढेको छ ।
नेकपाभित्रै पनि अनेक पटकका विवादमा चिनियाँ राजदूत हाउले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्षमा सक्रिय भूमिका खेल्दै आएको आरोप लाग्दै आएको छ ।
नेकपाभित्र नेताहरुको पदीय स्वार्थका लागि भएका झगडामा यसअघि पनि चिनियाँ राजदूत हाउले प्रधानमन्त्री ओलीका अतिरिक्त नेकपा शीर्ष नेताहरुलाई भेटेर दबाब दिएकी थिइन् ।
भेट के का लागि भएको भन्ने दुबै पक्षबाट जानकारी नगराइए पनि पार्टीभित्र पद त्याग्न अर्का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आरोप समेत प्रस्ताव पेश गरेपछि अफ्ठ्यारोमा परेका ओलीले आफूलाई सघाउन आग्रह गरेको अनुमान दाहाल पक्ष नेताहरुको छ ।
पहिले पहिलेका विवादमा झै यस पटक पनि प्रधानमन्त्री ओली सचिवालयमा अल्पमतमा छन् भने बुधबारका लागि बोलाइएको बैठक गर्न दिने र नदिनेमा दुई पक्षबीच खिचातानी छ ।
नेकपा नेताहरुबीच बढेको विवादले पार्टी नै विभाजनको मुखमा पुगेपछि गत बैशाख र असारमा पनि राजदूत हाउ यसैगरी सक्रिय भएकी थिइन् ।