उपत्यकामा जोर-बिजोर प्रणाली कायमै, व्यवसाय र होटल पूर्णरुपमा खुल्ने

काठमाडौंः जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ ।

आज (बुधबार)देखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनले उपत्यकामा लगाइएको जोर-विजोर प्रणाली भने यथावत राखिएको बताएका छन् ।

गत ३ गतेदेखि लागू गरेको निषेधाज्ञा आदेश परिमार्जन गरी भदौ २४ गते काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले ‘सीमित’ क्षेत्रमा तोकेको थियो । एक साताअघि खुकुलो पार्दै जारी गरिएको ‘सीमित निषेधाज्ञा’को समय राति १२ बजे सकिँदै छ ।

त्यसको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ । बैठकले अब निषेधाज्ञा लगभग खुलाएको तर, केही क्षेत्रका लागि भने अर्को आदेश नहुञ्जेलसम्मका लागि कायमै रहने अधिकारी दाहालले बताए ।

उनका अनुसार बैठकले खोल्न नपाइने व्यवसाय र क्षेत्रका लागि मात्र निषेधाज्ञा तोकेको छ । यसअघि मन्त्रिपरिषद बैठकले सार्वजनिक सवारीसाधन र आन्तरिक हवाई सेवासमेत खुलाउने निर्णय गरिसकेको छ ।

उपत्यकामा अत्यावश्यक र कार्यालय प्रयोजनबाहेक सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर यथावत् राख्ने निर्णय भएको छ । भदौ २४ गते निषेधाज्ञा खुकुलो पार्दै प्रशासनले केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाएको थियो ।

अब सार्वजनिक र निजी सवारीसाधन चल्न पाउँछन् तर, स्वास्थ्य मापदण्ड भने पालना हुनुपर्ने छ । मास्क, सेनिटाइजरलगायत स्वास्थ्य मापदण्ड पालना भए-नभएको प्रशासनले अनुगमन गर्ने र नियम पालना नभएको देखिए संक्रमक रोग ऐन अन्तर्गत कारबाही हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *