उच्च अदालत दिपायलद्वारा जसपा सा‌ंसद रेशम चौधरीलाई जन्मकैदको फैसला

 कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’का क्रममा २०७२ भदौ ७ मा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार रेशमलाल चौधरीलाई जन्मकैदको सजाय भएको छ । उच्च अदालत दिपायलले बिहीबार चौधरीलाई जिल्ला अदालत कैलालीको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ । उच्च अदालतका न्यायाधीश सीताराम मण्डल र टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार दुबै पक्षको बहस सुनिसकेपछि रेशमको माग अनुसार उनलाई सफाइ दिन अस्वीकार गरेको उच्च अदालत दिपायलकी निमित्त रजिष्ट्रार सीता रेग्मीले जानकारी दिएकी छन् । कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा २०७२ भदौ ७ मा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो । त्यसअघि जिल्ला अदालत कैलालीले २०७४ फागुन १४ मा रेशमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । उक्त आदेशविरुद्ध उनले उच्च अदालत दिपायलमा आफू छुट्न पाउनुपर्ने दाबीसहित मुद्दा दर्ता गरेका थिए । उच्च अदालतले २०७४ चैत २२ मा जिल्ला अदालत कैलालीकै आदेश सदर गरेको थियो । उक्त आदेश सदर भएपछि उनी सर्वोच्चमा पुगेका थिए । ०७५ पुस २३ गते सोमबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रेशमलाई कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामै राख्नुपर्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो । मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला अदालतले उनलाई जन्मकैद ठहर गरेको थियो । जिल्ला अदालतको उक्त आदेशविरुद्ध सांसद चौधरी उच्च अदालत गएका थिए । चौधरीलाई थुनामा रहेकै समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण समेत गराइएको थियो ।

यसैगरी उच्च अदालत दिपायलले रिहा भइसकेका लक्ष्मण थारूलाई पनि जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलमा भएको सुनुवाइपछि न्यायाधीश सीताराम मण्डल र टेक नारायण कुँवरको संयुक्त इजलासले जिल्ला अदालत कैलालीको फैसला बदर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।
उच्च अदालतले जारी गरेको फैसलामा टिकापुर घटनाको योजना बनाइ नेतृत्व लिइ निर्दोष राष्ट्र सेवक प्रहरी अधिकृत तथा कर्मचारी र नाबालकको ज्यान लिने गरि भएको विभत्स घटना घटाउन लक्ष्मण थारु घटनास्थलमा उपस्थित तथ्य मिसिलमा संलग्न प्रमाणबाट पुष्टि भएकाले जन्मकैद र थप ५ वर्ष कैद सजाय गर्नुपर्ने उल्लेख छ ।
थारु जिल्ला अदालत कैलालीको फैसला बमोजिम तीन वर्ष कैद भुक्तान गरी रिहा भएका थिए । उच्च अदालतको फैसलापछि उनलाई पक्राउगरी कारागार चलान गर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *