माइतीघर मण्डलामा शंख फुकेर प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलामा शनिबार दिउँसो बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ । विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकको बृहत् नागरिक आन्दोलनले संसद् विघटनविरुद्ध शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै नारायण वाग्ले, घिमिरे युवराजलगायत लेखक, कलाकार तथा कविहरू सडकमा उत्रिएका हुन् । सडक प्रदर्शनमा जसपाकी नेतृ हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी पनि सहभागी थिए । प्रदर्शनमा उत्रिकाहरूले ‘जो रक्षक, उही भक्षक’, ‘संविधानमाथि तीरैतीर, प्रतिगामीलाई खीरै खीर’, ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोके‍का थिए ।

उनीहरूले ओलीको गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको ‘क्रुर मोड’ लिएको उल्लेख गर्दै यस कदमलाई करेक्सन गरी तुरुन्त बदर गर्न माग गरेका छन् । सरकारले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि अहिले त्यसविरुद्ध देशभर आन्दोलन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *