नेपालसंग मैत्रीपूर्ण फुटबल खेल्न ३ देशको प्रस्ताव

काठमाडौं । बंगलादेश, मंगोलिया र डोमिनिकन रिपब्लिकले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न प्रस्ताव गरेको छ । अखिल नेपाल नेपाल फुटबल संघ एन्फाका अनुसार बंगलादेशले उसकै मैदानमा र अरुले नेपालमै आएर मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण धेरै देशमा खेलकुद गतिविधि ठप्प छ र खेलाडीहरुले अभ्यास तथा प्रशिक्षण गर्न पाएका छैनन् ।

मैत्रीपूर्ण खेलको प्रस्ताव आएपछि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्न माग ग रेकोछ । बुधबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा उपाध्यक्ष शिक्षित पराजुलीको टोलीले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेश कुमार सिलवाललाई भेट गरी राष्ट्रिय टिमको प्रशिक्षणको वातावरण बनाइदिन आग्रह गरेको छ ।

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट खेलको लागि एन्फाले गत साउनमै प्रशिक्षणको तयारी गरेको थियो । त्यसका लागि खेलाडीहरु काठमाडौं बोलाई कोरोना संक्रमण परीक्षण पनि गराइसकेको थियो । तर एएफसीले छनोट खेल सारेको र नेपालको कोरोनाको संक्रमण दर बढ्न थालेपछि प्रशिक्षण स्थगित गरिएको थियो ।

अहिले मैत्रीपूर्ण खेलका लागि विभिन्न देशबाट प्रस्ताव आएकाले एन्फा त्यो अवसर सदुपयोग गर्न चाहन्छ । एन्फाले नोभेम्बर वा डिसेम्बर खेल गर्नका लागि सम्बन्धित निकायमा पहल थालेको छ ।

मैत्रीपूर्ण खेल खेल्नका लागि प्रस्ताव आएपछि एन्फा सरकारबाट प्रशिक्षणको अनुमतिको पर्खाईमा रहेको प्रवक्ता किरण राईले बताए ।

‘विभिन्न देशबाट मैत्रीपूर्ण खेलको प्रस्ताव आइराछ । सरकारले सामान्य प्रशिक्षण सम्मको अनुमति नदिँदा समस्या परेको छ’ राईले भने, ‘सामान्य प्रशिक्षणसमेत नहुँदा हामीलाई तत्कालै खेल्न गाह्रो हुन्छ । देशैभर खेलकुद गतिविधि बन्द गर्नु वैज्ञानिक देखिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *