धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपरलिग एनएसएल फुटबलको शीर्षस्थानमा

 

धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपरलिग एनएसएल फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।आज भएको खेलमा एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ६३ औं मिनेटमा निशानको गोलबाट धनगढीले अग्रता बनायो । खेलको ६९ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीलाई ३-० को जित दिलाए । जितसँगै धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । लिगमा चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलमा २ अंक जोडेको छ ।।

यस्तै आजको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार भएको खेलमा बुटवल र विराटनगरले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई पटकको अग्रता जोगाउन नसक्दा बुटवलले विराटनगरसँग बराबरी खेलेको हो । बुटवलका लागि ओमोलाजा नुरिन करिम र लक्ष्मण रुचालले एक एक गोल गरे । विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले एक एक गोल फर्काए । रोमान्चक बनेको पाँचौ मिनेटमा बुटवलका आमिर श्रेष्ठको फ्रिकिक विराटनगरका गोलकिपर किशोर गिरिले उत्कृष्ट बचाऊ गरे । खेलको छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले गोल गर्दै बुटवललाई १-० को अग्रता दिलाए । कर्नरबाट आएको बलमा विराटनगरका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्रमा रहेका करिमले बललाई पोस्टले जाली चुमाए । खेलको ३१ औं मिनेटमा बुटवलका विलियम ओपुकुको लामो प्रहार विराटनगरका गोलकिपर किशोर गिरिले मुश्किलले बचाए । तर, खेलको ४२ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई १-१ गोलको बराबरीमा ल्याए । एडिलाजा सोमिडेको पासमा करिब २० यार्ड टाढाबाट पेड्रोले उत्कृष्ट गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेल दोस्रो हाफमा समेत दुबै टिमले आक्रमण खेल पस्कियो । बुटवलले भने पाएको मौकालाई सदुपयोग गर्यो । खेलको ६८ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै बुटवललाई २-१ को अग्रता दिलाए । विलियमको क्रसमा अनमार्क रहेका लक्ष्मणले सहज गोल गरेका हुन् । तर, खेलको इन्जुरी समयमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *