कोरोनाका कारण नेपालमा ५ हजार १ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार  नाघेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ५३९ जनाको पीसीआर परीक्षण र ३४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसहित संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृतक संख्या पाँच हजार एक पुगेको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृत्युदर उच्च देखिएको छ । हालसम्म एकै दिन २२५ जनासम्मको मृत्यु भएको छ । पछिल्लो एक साता मृतक संख्या तीन अंकमा रह्यो ।

वैशाख २६ गते ८८ जना, वैशाख २७ गते १३९, वैशाख २८ गते २२५ जना, वैशाख २९ गते १६८ जना, वैशाख ३० गते २१४ जना, वैशाख ३१ गते २०३ जना, जेठ १ गते १८७ जना र जेठ २ गते १४५ जनाको मृत्यु भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ पुगेको छ । निको हुने दर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *