नेपाल बलियो टोली अष्ट्रेलियासँग ३ – ० ले पराजित भएको

विश्वकप फुटबल तथा एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलको अन्तिम प्रतिस्पर्धामा नेपाल पराजित भएको छ । दोस्रो चरणको छनोटको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल बलियो टोली अष्ट्रेलियासँग ३ – ० ले पराजित भएको हो । योसँगै नेपालले विश्वकप छनोट र एसियन कपको अघिल्लो चरणमा सिधै स्थान बनाउने मौका गुमायो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे । यो छनोट खेलमा नेपालको छैटौ हार हो भने अष्ट्रेलियासँगको दोस्रो हार हो । अष्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ५-० ले पराजित भएको थियो । खेलको छैटौं मिनेटमा लेकीले हेडरमार्फत गोल गरेपछि अष्ट्रेलियाले खेलमा अग्रता बनाएको थियो । ३८ औं मिनेटमा फ्रानले गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएसँगै नेपाल १० खेलाडीमा समेटियो । त्यसपछि निरन्तर दबाब बनाए पनि अष्ट्रेलियाले खेलमा १ गोल मात्र गर्न सक्यो । खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियाको तीन शुन्यको जित पक्का गरे । जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । यस्तै अष्ट्रेलिया एसियन कपमा समेत छनोट भएको छ । अष्ट्रेलियाले ७ खेलमा शतप्रतिशत जितसहित २१ अंक जोडेको छ । पराजित नेपालले भने ८ खेलमा ६ अंक जोडेको छ । नेपालको विश्वकप छनोटको अघिल्लो चरणको सम्भावना सकिएको छ र एसियन कपको अघिल्लो चरणमा सिधै मौका बनाउने स्रम्भावना पनि सकिएको छ। नेपालले अब एसियन कपको तेस्रो चरणमा स्थान बनाउन प्लेअफ खेल्ने मौका भने पाउने छ । समुहका ४ टोलीविरुद्ध पराजित भएको नेपालले चाइनिज ताइपेविरुद्धका दुबै खेलमा जित निकाल्दै ८ खेलमा ६ अंक जोडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *