काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप, जोरबिजोर निजी सवारी साधन र ट्याक्सी चल्न पाउने

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। आइतबार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो। काठमाडौं उपत्यकामा निजी सवारी साधन जोरबिजोर चल्न पाउने गरी निषेधाज्ञा थप गर्ने निर्णय तीनै जिल्लाका प्रजिअहरुले गरेका छन्। तीन जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय पनि भएको छ।

खाद्यान्न पसलको हकमा अघिल्लो निर्णय नै कायम रहेको र अन्य पसलको हकमा बारअनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ।

आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्युटर पसल) खोल्न दिइनेछ।

त्यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर (ग्रोसरी बाहेक अन्य), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ खुल्न दिइने निर्णय भएको छ।

त्यस्तै खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरु तथा डिपार्टमेन्टल स्टोर(ग्रोसरी), पुस्तक पसल/स्टेशनरी पसल दैनिक ११ बजेसम्म खोल्न दिइनेछ।

निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म र अनलाइन डेलिभरी/टेक अवे र सवारीसाधन मर्मत वर्कशप साँझ ७ बजेसम्म खोल्न पाइने छ।

यस्तै विकास निर्माण र सर्वाजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने निर्णय पनि भएको छ।  यसैगरि सरकारी कार्यालयहरु पनि खोल्ने निर्णय भएको छ।

पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि आज  सकिँदै छ। कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथामका लागि उपत्यकामा बैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा भइरहेको छ।

सरकारले पछिल्लो एक सातादेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *