नेप्सेले बनायो नयाँ अलटाइम हाइ रेकर्ड

साताको पहिलो कारोबार दिन नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। आइतबार नेप्से परिसूचक ५४.३१ अंक बढेर ३०५८.६३ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि नेप्सेले जेठ ३१ गते नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। सो दिन नेप्से ३०२५.८३ विन्दुमा पुगेको थियो। यस दिन नेप्सेले सो रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो।

यस दिन नेप्सेले नयाँ अलटाइम हाइ क्लोज बनाएपनि इन्ट्रा डेको अलटाइम हाइ रेकर्डलाई भने अझै तोड्न सकेको छैन। यस दिन नेप्से ३०५८ विन्दुमासम्म पुगेको छ। यस अघि इन्ट्रा डेमा नेप्से ३०६४ विन्दुसम्म पुगेको थियो।

नेप्सेको यस दिनको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ। यस दिन २२३ कम्पनीको १ लाख ४० हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार रुपैयाँ बराबरको ४ करोड ४१ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक २.३९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.१४ प्रतिशत र लघुवित्तको १.५८ प्रतिशत बढेको छ। कारोबारमा आएको म्युचुअल फण्डको सूचक सर्वाधिक १.२९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ४९ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन ग्लोबल आईएमई बैंकको ४९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *