प्रधानन्यायाधीश विरुद्ध संसदमा महाअभियोग दर्ता

प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवराविरुद्ध संघीय संसदमा महाअभियोग दर्ता भएको छ ।

संविधानको धारा १०१ को उपधारा २ मा प्रतिनिधिसभा एक चौथाइ सदस्यले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था छ । महाअभियोग दर्ता भएपछि जवरा स्वतः निलम्बनमा परेका छन् ।

यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा २ तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्तिको पदबाट मुक्त हुने व्यवस्था छ ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ९८ जना सांसदहरुले उनीविरुद्ध महाअभियोग दर्ता गराएका हुन् ।

मन्त्रिपरिषदमा भागबण्डा खोजेको आरोप लागेपछि विवादमा तानिएका जवराविरुद्ध नेपाल बार एसोसिएसनले १०७ दिनदेखि निरन्तर आन्दोलन गर्दै आएको छ ।

महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् । संविधानको धारा १०१ को उपधारा (२) बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *