रूसी इन्धनमा अमेरिकाको प्रतिबन्ध

अमेरिकाले रूसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास, कोइला लगायत सबै किसिमका इन्धनमा प्रतिबन्ध लगाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार मंगलबार राति सवा १० बजे यस्तो घोषणा गरेका हुन्।
युक्रेनमाथि सैन्य हमला गरेको रूससँग सबै किसिमका साझेदारी अन्त्य गरेर दबाब सिर्जना गर्ने रणनीतिअनुरूप अमेरिकाले पेट्रोलियम आयातमा प्रतिबन्ध लगाएको हो।
अमेरिकाले सन् २०२१ मा महिनाको २ करोड ब्यारेलभन्दा बढी कच्चा तेल र प्रशोधित पेट्रोलियम पदार्थ रूसबाट आयात गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यो कुल अमेरिकी मागको ३ प्रतिशत हो।
रूसको हमलापछि कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य लगातार बढ्दै गएको छ। यसअघि अमेरिकी प्रतिबन्धको हल्ला चल्नेबित्तिकै सोमबार केही समय कच्चा तेलको मूल्यले १ सय ३९ डलर प्रतिब्यारेल छोएको थियो।
यो मूल्य लामो समय भने रहेन। अब प्रतिबन्ध घोषणा भइसकेपछि कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य थप वृद्धि हुनेछ र त्यसको सिधा असर नेपाल लगायत संसारका सबै मुलुकमाथि पर्नेछ।
नेपाल आयल निगमलाई अहिले नै मासिक ५ अर्ब रूपैयाँभन्दा बढी घाटा छ। अमेरिकी प्रतिबन्धपछि अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य वृद्धिले नेपाललाई आगामी दिनमा पेट्रोलियम आपूर्ति सहज गर्न आर्थिक रूपले कठिन हुँदै जाने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *