खेलकुदका सदस्य सचिव सहित १९ जनालाई विभूषण

सरकारले संविधान दिवसका अवसरमा खेलकुद क्षेत्रका १९ जनालाई विभिन्न पदक तथा विभूषण प्रदान गर्ने भएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वले पदक तथा विभूषणबाट विभूषित हुन लागेका हुन् ।

ष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई सुप्रबल जनसेवा श्री (तृतीय)बाट विभूषित गर्दैछ । यस्तै तेक्वान्दोकी कीर्तिमानी खेलाडी तथा प्रशिक्षक संगिना वैद्य र प्रशिक्षक तुलसी कुमार गुरुङलाई प्रबल जनसेवा श्री (चतुर्थ)बाट र राखेपका प्रशासन विभागका प्रमुख कुलबहादुर थापालाई प्रवल जनसेवा श्री (चतुर्थ)बाट विभूषित गर्दैछ ।

सरकारले विभागीय टिमबाट अन्तराष्ट्रिय पदक जितेका १५ जनालाई समेत विभिन्न पदकबाट विभूषित गर्ने भएको छ ।

शसस्त्र प्रहरी बल (एपीएफ)बाट एथ्लेटिक्सका किरण सिंह बोगटी र जुडोकी देविका खड्का सुकीर्ति पदकबाट विभूषित हुने भएका छन् ।

यस्तै, पुलिसका ७ खेलाडी सरकारबाट विभूषित हुने सूचिमा परेका छन् । पुलिसबाट भारत्तोलनका विकास थापा, तेक्वान्दोका कमल श्रेष्ठ र विर बहादर महरा, बक्सिङका भुपेन्द्र थापा, कराँतेका सुनिता महर्जन, सरु कार्की र महशुश मोक्त्तान नेपाल प्रताप भूषणबाट विभूषित हुने भएका छन् ।

यस्तै, आर्मीका ट्रायथलनका हिमाल टमाटा परम पौरख भास्करबाट विभूषित हुने भएका छन् भने आर्मी अन्तर्गतनै तेक्वान्दोका सञ्जिब ओझा, मिनु गूरुङ, संगीता मगर तथा बक्सिङका मिनु गुरुङ र कराँतेका प्रविन मानन्धर सुकीर्ति पदकबाट विभूषित हुने भएका छन् ।

विभागीय टिमबाट १३ औं सागमा पदक जितेका खेलाडीलाई विभूषित गर्ने सूचिमा समावेश गरेपनि सरकारले धेरै कीर्तिमानी खेलाडीलाई मानपदवीबाट बाहिर राखेको छ ।
सरकारले यस बर्ष ५ सय ९४ जनलाई विभिन्न मानपदवी र अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ ।

विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई सरकारले संविधान दिवसका अवसरमा तक्मा दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *