चीनले लगायो अमेरिका माथि बदमाशी गरेको आरोप



वाशिङटनले चिनियाँ भिडियो शेयरिङ एप टिकटक र वीच्याट डाउनलोडमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि बेइजीङले यस्तो बदमासीविरुद्ध कदम चालिने चेतावनी दिएको हो । चिनियाँ वाणिज्य मन्त्रालयले वक्तव्य मार्फत वाशिङटनसँग धम्कीपुर्ण व्यवहार रोक्न र अन्तर्राष्ट्रिय नियम र विधीको निष्पक्ष र पारदर्शीरुपमा पालना गर्न आग्रह गरेको छ । अमेरिकाले आफ्नो कदम नसच्चाए चिनियाँ कम्पनीको चासो र वैधानिक अधिकार संरक्षण गर्न आवश्यक उपाय अपनाउन पछि नपर्ने चेतावनी वक्तब्यमा दिइएको छ । हिजो अमेरिकी वाणिज्य विभागले राष्ट्रिय सुरक्षा खतरा रहेको भन्दै टिकटक र वीच्याट डाउनलोडमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । चीन र चिनियाँ कम्पनीले अमेरिकी प्रयोगकर्ताको विवरण जाशुसीका लागि प्रयोग नभएको दाबी गर्दै आइरहेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सम्बन्धी चासो सम्बोधन गर्न टिकटक कम्पनी बाइटडान्सलाई अमेरिकामा सञ्चालन बिक्रि गर्न दबाब दिदै आएका छन् । केहि दिन अघि टिकटकले माइक्रोसफ्टको खरिद प्रस्ताव अस्वीकार गरेको थियो भने खरिद प्रक्रियामा रहेको अर्को कम्पनी ओराकलसँग सहमति हुन बाँकी छ । राष्ट्रपति ट्रम्पले अन्तिम समयमा टिकटक सञ्चालनमा कुनै सम्झौता नभए शनिवारबाट अमेरिकी एप स्टोरमा टिकटक र वीच्याट प्रतिबन्धित हुने घोषणा गरेका छन् । युवा माझ लोकपृय रहेको टिकटकको अमेरिकामा १० करोड र विश्वभर ७० करोड प्रयोगकर्ता छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *