कसरी चुनिन्छ अमेरिकामा राष्ट्रपति
विश्व शक्ति अमेरिका यतिखेर निर्वाचनमा रंगिएको छ। एकातिर उक्त मुलुक कोरोनाबाट थलिएको छ भने अर्कोतिर संघारमै आएको राष्ट्रपतीय निर्वाचनले तातिएको छ। अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ।
राष्ट्रपति पदका लागि मैदानमा दुई उम्मेदवार बलशाली ढंगमा उभिएका छन्, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिद्वन्द्वी जो बाइडेन। ट्रम्पको पार्टी रिपब्लिकन हो भने बाइडेन डेमोक्रेटिक।
अमेरिकाको राष्ट्रपति हुनु चानचुन कुरा होइन। राष्ट्रपतिको प्रभाव विश्वस्तरमा हुने गर्छ। विशेषगरी अमेरिकाको भूमिका लोकतन्त्र, विश्व महामारी, भोकमरी, जलवायु परिवर्तन, युद्धजस्ता कुरामा अधिक देखिँदै आएको छ। यसकारण पनि त्यहाँ हुने निर्वाचनले विश्वमै असर पार्छ।
कतिपय अवस्थामा अमेरिकालाई अन्य मुलुकले एक अभिभावक मान्दै आएका छन्। यद्यपी, अभिभावकीय भूमिका निर्वाहमा चुकेको र झिनामसिना तथा पूर्वाग्रहले थिचिँदै गएको भन्दै पछिल्ला दिन अमेरिका र त्यहाँको नेतृत्व आलोचित बन्दै आएएको छ। तर पनि त्यो प्रभावशाली मुलुकमा मानिसहरूले को बन्ला नयाँ राष्ट्रपति भनेर चासो दिने क्रम भने घटेको छैन।