राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा नेपालकी बन्दना राणा मनोनित
महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन्।
राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन्।
उनी राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्षसमेत हुन्।
जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका एजेण्डा पूरा गर्नका लागि सो आयोग गठन गरिएको थियो।
सो उच्चस्तरीय आयोगमा २८ सदस्य छन् भने अध्यक्षता तान्जानियाका पूर्वराष्ट्रपति जाकाया किक्वेते र क्यानडाका २७ औँ गभर्नर जनरल मिशेल जीनले गर्नेछिन्।
आयोगमा देशका पूर्व प्रमुखदेखि अभियानकर्मी र युवासमेत सदस्यको रूपमा रहेका छन्।
आयोगले नैरोबी सम्मेलनमा गरिएका एक हजार २५० प्रतिबद्धता पूरा भए–नभएको अनुगमन गर्ने जनाइएको छ।