गुल्मीको रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान सफल

शुक्रबार नेपाल एयरलाइन्सको ९ एन-एबिटी जहाजले रेसुंगा विमानस्थलमा सफल रुपमा परीक्षण उडान गरेको छ। उक्त जहाज क्याप्टेन मनिष विष्ट नेतृत्वको टोलीले रेसुंगा विमानस्थलमा सफलतापूर्वक अवतरण गराएका हुन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५० मिनेटको उडानपछि सो विमान रेसुंगा विमानस्थलमा अवतरण गरिएको क्याप्टेन बिष्टले बताए ।

गुल्मीको रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि नेपाल एयरलाइन्सले नियमित उडान गर्ने भएको हो।

यसअघि २०७५ साल जेठ२५ गते तारा एयरले कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको थियो। त्यसको चारबर्षपछि गत पुस २४ गते पक्की धावनमार्गमा तारा एयरलेनै ‘डेमो फ्लाइट’ गरेको थियो। नियमित उडानको लागि सबै अवस्थाको परीक्षण गर्न नेपाल एरलायन्सले नेपाल वायुसेवा निगमको अनुमति लिएर शुक्रबार परिक्षण गरेको हो ।

सातामा एउटा उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता गरिएको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए। रेसुंगा नगरपालिकासँगको समन्वय र सहयोगमा नेपाल एयरलायन्सले नियमित उडानको तयारी गरेको जनाएको छ। गत फागुन १४ गते सम्झौता गरेर १७ गतेबाट नियमित गर्ने योजना भए पनि प्राविधिक समस्याका भएका कारण केहि समय ढिलो भएको नगरप्रमुख पन्थीले बताए। उनले सम्झौता अनुसार ६ हजार देखि ६ हजार ५ सयसम्म भाडा कायम हुने बताए।

२०६३ सालदेखि निर्माण सुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । बिमानस्थल निर्माणको लागि अहिलेसम्म करिव ३३ करोड खर्च भएको छ । २०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदिप ज्ञवालीले शिलन्यास गरेको विमानस्थलमा २०७१ सालपछि मात्र निर्माणको कामले निरन्तरता पाएको थियो। स्थानीय १७ परिवारको बसाई अन्यत्र सारेर विमानस्थल निर्माण गररिएको हो।

विमानस्थलमा ५२० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग रहेको छ। यहाँ १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन्। १५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुंगा विमानस्थल समुन्द्री सतहदेखि १ हजार ५२६ मिटरको उचाइमा पर्छ ।

विमानस्थल नियमित सञ्चालन भएमा जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्ने तथा गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बागलुङ र पाल्पाका सर्वसाधरणले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ। यात्रु नहुने, भौतिक संरचनाको अभाव लगायतका कारणले नियमित उडानमा भने चुनौति नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *