काठमाडौंको एक होटलमा भेटियो महिलाको शव, हत्याको आश‌ंका ।

काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, शनिबार साँझ अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो ।
कम्तीमा दुई दिनदेखि कोठा बन्द रहेको अवस्थामा ग्राहक पैसा नतिरी गएको हुनसक्ने आशंका गरेर ढोका खोल्दा शव भेटिएको भन्दै होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी वृत्त, गौशालाको टोली घटनास्थलमा फेला परेको थियो ।
त्यसक्रममा खाटमा महिलाको शव भेटिएको थियो भने नजिकै डोरी समेत फेला परेको थियो ।
शव भेटिएको सिरहा धनुषा होटल एण्ड लजका कर्मचारीले ती महिला एक जना पुरुषसँग होटलमा आएको भनेका छन् । तर, ती व्यक्तिले होटलमा गलत विवरण टिपाएका छन् । त्यसैले यो घटना थप शंकास्पद बनेको छ ।
अहिले घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोली पनि घटनास्थलमा पुगेको छ । एसएसपी खत्रीका अनुसार, शंकास्पद व्यक्तिको खोजी भइरहेको छ ।
स्रोतका अनुसार, मृतक महिलालाई यसअघि प्रहरी वृत्त, गौशालाले देहव्यापारमा संलग्न रहेको आरोपमा मुद्दा समेत चलाएको थियो । थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *